Wednesday 28 March 2012

नेपाली भान्सामा प्रयोग हुने केही मसला र तिनको उपयोगिता


१.    जीरा : जीरा सुगन्धित तथा पाचनशक्ति भएको एकप्रकारको मसला हो । यसमा आइरन र क्याल्सियम हुन्छ । जीरामा एण्टी क्यान्सरको गुण हुन्छ । भोजनमा अरुचि, पेट फुलेमा वा अपच भएमा जीराको प्रयोग उपयुक्त हुन्छ । यो नेपालीको भान्सामा अधिकतम प्रयोग हुने मसलामध्येको एक हो । यसको प्रयोगले तरकारी स्वादिलो हुन्छ । प्रसूतिपछि जीरा सेवन गर्दा गर्भाशयको सफाइ हुने विज्ञहरूको भनाइ छ । यो गरम प्रकृतिको मसाला भएकाले अधिक प्रयोग पनि उपयुक्त नहुने उनीहरूको सुझाव छ । विश्वमा जीराको उत्पादन भारत, इराक र चीनलगायत मुलुकमा हुने गर्दछ ।
२.    अलैंची : अलैंची अत्यन्त उपयोगी मसला हो । यसलाई गरम मसलामा समेत प्रयोग गरिन्छ । नेपालमा अलैंचीको व्यावसायिक खेती हुने गर्दछ । नेपालवाहेक भारत र भुटान पनि अत्यधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । अलैंचीले खाना पचाउन मद्दत गर्छ । यसले मुख गन्हाउनबाट पनि बचाउँछ । डायबिटिजका रोगीले यसको प्रयोग गर्नु राम्रो मानिन्छ ।
३.    ल्वाङ : ल्वाङ फूलको कोपिला हो । यसको तेल दन्तशूल, मुखरोग, अम्लपित्त खोकीलगायत समस्याका लागि उपयोगी हुन्छ । यसमा एण्टीबायोटिक, एण्टीसेफ्टिकलगायत गुण हुन्छन् । यसले दुखेको कम गर्न मद्दत गर्छ । ल्वाङलाई गरम मसलाका रूपमा समेत प्रयोग गरिन्छ ।
४.    मरीच : मरीच लहरा जातिको बिरुवामा फल्ने फल हो । यसको फललाई गरम मसलाका रूपमा प्रयोग गरिन्छ । मरीच अजीर्ण, पेटमा हावा भरिएमा, शीत ज्वरो, चर्मरोगलगायत रोगका लागि उपयोगी हुन्छ ।
५.    जाइफल : प्राचीनकालदेखि नै जाइफल गरम मसला तथा विभिन्न रोगको उपचारका लागि प्रयोग हुँदै आएको छ । आयुर्वेदमा उल्लेख भएअनुसार जाइफलमा पीडानाशक, बातनाशक र अन्य थुप्रै गुण हुन्छन् । त्यस्तै, जाइफल स्नायुलाई सबल बनाउन उपयोगी मानिन्छ । यसमा पाचक गुण अधिक भएकाले पाचनप्रणालीका लागि यसको प्रयोग उपयोगी हुन्छ । त्यस्तै, यसले अनिद्रा, शूल, अपच, खोकी, शीघ्रपतन र नपुंसकतालगायत समस्यासमेत हटाउन मद्दत गर्छ ।
६.    तेजपत्ता : यसले खानाको स्वाद बढाउँदछ । यसमा एण्टी ब्याक्टेरियल गुण हुन्छ । त्यसैले, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तेजपत्ता दालचिनीको पात हो ।
७.    दालचिनी : दालचिनी तेजपातको बोटको बोक्रा हो । यो गरम मसलामा प्रयोग हुन्छ । यसले रगतमा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । दालचिनीको स्वाद मीठो हुन्छ । यसको पातलाई तेजपात भनिन्छ । यो पनि मसलाकै रूपमा प्रयोग हुन्छ । विशेषज्ञहरूका अनुसार दालचिनीको प्रयोगले मधुमेह र मुटुको रोग निको पार्न सहयोग गर्दछ । दालचिनी सुगन्धित पार्न र वायुशमन गर्न प्रयोग गरिन्छ । यसले बमन रोक्छ । यसको बोक्रामा शून्य दशमलव ५ देखि १ प्रतिशतसम्म तेलको मात्रा हुन्छ । यसको तेल दाँतको औषधिका रूपमा प्रयोग हुन्छ ।
८.    सुकुमेल : सुकुमेल गरम मसलाका रूपमा प्रयोग हुन्छ । यो समुद्र तटीय क्षेत्रमा उत्पादन हुन्छ । यसको फल मुख रोग, श्वास, अरुचि, बमन, दुर्बलतालगायत रोगमा प्रयोग गरिन्छ ।
९.    जाइपत्री : जाइपत्री दुखेको कम गर्न, गर्मी बढाउन, अजीर्ण तथा शूलको रोग हटाउनका लागि उपयोगी हुन्छ । विशेष गरी यसको प्रयोग मसलाका रूपमा गरिन्छ ।
१०.    धनिया : धनिया स्वाद र बासनाका लागि प्रयोग हुने औषधीय गुण भएको मसला हो । यसको हरियो बोटको प्रयोग खानाको सजावट, स्वाद तथा सुगन्धका लागि गरिन्छ । यो ताजा मसलाका रूपमा अचारमा बढी प्रयोग हुन्छ । यसको बीउलाई सुकाएर अन्य मसलाजस्तै प्रयोग गर्न पनि सकिन्छ । 
११.    अदुवा : अदुवा मसला र औषधिका रूपमा प्रयोग हुने फल हो । हाल नेपालमा अदुवाको व्यावसायिक खेती हुन थालेको छ । यसको गानो रेसादार हुन्छ । अदुवा सर्दी हटाउन र स्वादका लागि उपयोगी हुन्छ ।
१२.    खुर्सानी : नेपालीको भान्सामा खुर्सानीको प्रयोगले प्राथमिकता पाउँछ । यसले मोटोपन घटाउन सहयोग गर्छ । यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ ।
१३.     बेसार : बेसार नेपालसहित अन्य एशियन मुलुकमा प्रचलित मसला हो । नेपालीको भान्सामा यसको प्रयोग अधिकतम हुन्छ । यसलाई तरकारीमा रङका लागि प्रयोग गरिन्छ । एशियन मुलुकमा बेसारको प्रयोग करीब २ हजार वर्षअघिबाट भएको मानिन्छ । यो अदुवाजस्तै जमीनमुनि फल्ने एकप्रकारको मसलाजन्य पदार्थ हो । यसले शरीरलाई गर्मी प्रदान गर्नुका साथै कफ र जण्डिस (कमलपित्त)बाट बचाउने आयुर्वेद ज्ञाताहरू बताउँछन् । यसले रगत सफा गर्ने र छालासम्बन्धी रोगको निदान गर्ने उनीहरूको भनाइ छ । बेसारमा सूक्ष्म जीवाणु नष्ट गर्ने विशेष तत्त्व (एण्टी ब्याक्टेरियल) हुन्छ । त्यस्तै, बेसार विषनिरोधक प्राकृतिक पदार्थ पनि हो । घाउमा यसको लेप लगाउनाले फाइदा हुन्छ । तातो दूधमा बेसार मिसाएर पिउँदा सर्दी, शरीर दुखेको र हाडलाई बलियो बनाउन सहयोग गर्छ ।
१४.   सौंफ  : सौंफको बीउ वा गेडा सुत्केरीको गर्भाशय सफा गर्न, दूध बढाउन र आउँ परेकाहरूका लागि उपयोगी हुन्छ ।
१५.    हिङ : यसले खानाको स्वाद बढाउँछ । पेट दुखेमा औषधिका रूपमा पनि यसको प्रयोग गरिन्छ । दाँत दुखेको बेला गालामा लेप लगाएमा दुखेको कम गर्न सहयोग गर्छ ।  
१६.    मेथी : मेथीको साग तरकारी र बीउ मसलाका रूपमा प्रयोग गरिन्छ । यो मधुमेहलगायत रोगका लागि उपयोगी हुन्छ । ग्याष्ट्रिक भएकाहरूका लागि पनि मेथी प्रयोग गरिएको खाना उपयोगी हुन्छ ।
१७.    ज्वानो : ज्वानो एकप्रकारको गरम मसला हो । यसको प्रयोग अजीर्ण, पेट दुखेकोलगायत रोगका लागि गरिन्छ ।
१८.    टिमुर : टिमुर दाँतसम्बन्धी रोगका लागि उपयोगी मसला हो । यो मुखमा दुर्गन्ध आउने, ज्वरो, अजीर्ण, महामारी, हैजा, टाउको दुखेकोमा बढी उपयोगी छ । यसलाई रुघाखोकी र पेट दुखेको बेलामा पनि प्रयोग गर्न सकिन्छ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...