अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ
लम्बाइ, चौडाइ, उचाइको अनुपात
घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ। थोरै जग्गामा आकाश छुने घर बनायो भने भुइँचालोको सानो झट्काले पनि गर्ल्यामगुर्लुम हुनसक्छ।
विशेषगरी उपत्यकाका भित्री सहरमा आधा/एक आना जग्गामा ७/८ तले घर बनेको देखिन्छ। त्यो सतप्रतिशत असुरक्षित तासको घर हो। मापदण्डअनुसार कहीँ पनि घरको चौडाइको साढे दुई गुणाभन्दा ठूलो घर बनाउन पाइन्न। यो नियमअनुसार जतिसुकै बलियो संरचना बनाए पनि १२ फिट चौडाइ जग्गा छ भने तीनतलेभन्दा ठूलो बनाउनु धरापै हुन्छ। नगरपालिकाले यो बन्देज लगाएको भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।
निकास आवश्यक
भुइँचालोमात्र हैन, आगलागी, करेन्ट सट हुँदा वा अरू विपत्ति आइलाग्दा जोगिन घरबाट बाहिर निस्कने उचित प्रबन्ध आवश्यक छ। घरमा कम्तीमा दुईवटा मूलढोका हुनुपर्छ। त्यहाँसम्म पुग्ने बाटो फराकिलो र सुरक्षित हुन जरुरी छ। भर्याुङ जहिल्यै फराकिलो र बलियो बनाउनुपर्छ।
ठूला व्यापारिक भवन, अपार्टमेन्ट, स्कुल, कलेज, अस्पतालजस्ता सार्वजनिक भवनमा एउटा भर्यातङले पुग्दैन। भवनको बाहिरबाट सिरानपुछार एउटा भर्यााङ राख्न मापदण्डले अनिवार्य गरेको छ। अभर परेको बेला भाग्न मात्र हैन, उद्धार कार्यमा समेत सजिलो होस् भनेर बाहिरबाट भर्यारङ राखिएको हुन्छ। सिंहदरबारमा नयाँ बनेका भवनमा यस्तो भर्या ङ देखिन्छ। तर निजी क्षेत्रका धेरैजसो कम्प्लेक्सले केही लाखको लोभ गरेर बाहिरबाट भर्याभङ राखेका छैनन्।
जग सबैभन्दा महत्वपूर्ण
जग बलियो हुनुपर्छ भन्ने विषयको ज्ञान सबैलाई छ तर कस्तो जग बलियो भन्ने विषय असाध्यै जटिल छ। पिलर सिस्टमको घरमा कति गहिरो जग जाने? हात्तीपाइले (पिलरको जग) कत्रो बनाउने? डन्डी कसरी बाँध्नेजस्ता निर्णय असाध्यै जटिल छ। हचुवा भरमा गहिराइ, लम्बाइ, चौडाइबारे भन्न सकिन्न।
जग खन्दा भेटिने माटोको प्रकार, घरको तल्ला, पिलरको आकार, लम्बाइ, चौडाइको आधारमा गहिराइ निर्धारण हुन्छ। घरको प्रयोजन के हो त्यसलाई पनि ध्यान दिनुपर्छ। उत्रै आकारप्रकारको आवासीय घर र विद्यालय भवनको जगको गहिराइ तथा अरू सामान भिन्न हुन्छ। आवासीय प्रयोजनका लागि बनाइने दुईतले घरको जग माटोको प्रकारअनुसार ३ देखि ५ फिटसम्म भए पुग्छ।
पिलर सिस्टमको घरको जग हात्तीपाइले हो। डन्डीको जाली बुनेर ढलाइ गरेर हात्तीपाइले बनाइन्छ। हात्तीपाइलेको लेभल जहिले पनि एक सय असी डिग्रीमै हुनु आवश्यक छ।
पिलर र बिम कस्तो?
पिलर गाउँघरको थामजस्तै हो। थाम सबैभन्दा बलियो हुन्छ। आधुनिक घरमा पनि यही नियम लाग्छ। हात्तीपाइलेमा अड्याएर पिलर ठडाइन्छ। मानिसको शरीरको मांसपेशीलाई हड्डीले थामेजस्तै घरको सबै बोझ पिलरले बोक्छ। त्यसैले पिलर सधैं घन्टी (नब्बे डिग्री) मा ठडिनुपर्छ। घरको मजबुतीको आधार पिलर हो। पिलरको साइज पनि घरको तलामै भर पर्छ। सामान्य घरमा पनि कम्तीमा ९ इन्च चौडाइ र १४ इन्च लम्बाइको पिलर चाहिन्छ। ती पिलरमा पाँच लाइन र चार लाइनको गरेर ८ वटा डन्डी राख्नुपर्छ। डन्डीमा कहिल्यै कञ्जुस्याइँ गर्नुहुन्न।
डन्डीमा लोभ नगरे पनि बाँध्ने तरिका मिलेन भने सबै खर्च व्यर्थ हुन्छ। पिलरको डन्डी बाँधेर आकार दिन चुरी (रिंग) चाहिन्छ। चुरीमा दुई लाइनको डन्डी प्रयोग गर्ने चलन छ। चुरीले घरलाई धक्का परेको बेला पिलरलाई जोगाएर राख्छ। त्यसैले चुरी बनाउने र बाँध्ने तरिका ठ्याक्कै मिल्नुपर्छ। चुरीको दुरी ४ देखि ६ इन्चभन्दा बढी हुनु हुँदैन।
पिलरको उचाइ आठदेखि नौ फिट हुन्छ। यसमा एकैपटकमा ढलान गर्ने चलन छ। आवासीय भवनमा सबैले यही गल्ती गरिरहेका छन्। पिलरलाई आधा गरेर दुईपटक ढलान गर्नु आवश्यक छ।
एकपटकमा ढलान गर्दा डन्डी नब्बे डिग्रीमा नबसेर बीचमा थोरै बांगिन सक्छ। अर्को नौ फिटमाथिबाट मसला खसाल्दा रोडामात्र पहिला हाम फाल्छ। यसले मुनिको केही फिटमा रोडाको मात्रा बालुवा–सिमेन्टभन्दा कम हुन सक्छ। पिलर कमजेार भए घर जोखिमपूर्ण हुने भएकाले एकपटकमा ५ फिट उचाइ मात्र ढलान गर्न सके मजबुतीको अचुक उपचार हुन्छ।
बिमले पुराना घरमा निदालको काम गर्छ। पिलरमाथि बसेर ढलान थाम्छ। बिमको आकार पिलरभन्दा केही कम हुँदा पनि फरक पर्दैन। यसमा पनि डन्डी बाँध्ने तरिका मिलाउनुपर्छ। दुइटा पिलरको छेउछाउमा डन्डीको टुक्रा थपेर बिमलाई बलियो पार्नैपर्छ। चुरी बाँध्ने तरिका पिलरजस्तै हो।
पिलर र बिममा डन्डी गाँस्दा ध्यान पुर्यायउनुपर्छ। डन्डीको मोटाइ र पिलर/बिमको लम्बाइअनुसार खप्टिने भाग (ओभरल्याप) निर्धारित हुन्छ। कम्तीमा साढे दुई फिट खप्टाउनु अनिवार्य छ। पिलर वा बिममा धेरै डन्डी हुन्छन्। ती डन्डी काट्ने बेला अलगअलग लम्बाइको बनाउनु जरुरी छ। त्यसो नगरे एकै ठाउँमा गाँस पर्छ। यस्तो गल्ती भयो भने घरमा कुनै बोझ वा धक्का पर्दा गाँसिएकै ठाउँबाट क्षति हुन्छ।
ढलान अढाइ लाइनको डन्डी
सिमेन्टको घर बनाउँदा ढलानलाई सर्वाधिक महत्व दिने चलन छ। ढलान सकेर भोज खाने/खुवाउने चलन बसेको त्यसैले होला! ढलान गाउँले घरमा तला छापेजस्तै हो। थाम, निदाल मात्र बलियो हालेर हुँदैन, दलिन पनि भरपर्दो हुनुपर्छ भन्ने हाम्रा पुर्खाले उहिल्यै जानेका थिए। दलिन हालेपछि दाउरा, बाँस, माटो वा काठ जेले पनि छाप्न सकिन्छ।
आजभोलिका घरमा दलिनको काम डन्डीले गर्छ। सिमेन्ट, रोडा र बालुवा मिसाएको कँक्रिटले तला छापिन्छ। ढलान बलियो बनाउन डन्डीको जाली बाँधेको मिल्नुपर्छ। डन्डीको जाली ६ इन्चमा बाँध्नु राम्रो हुन्छ। बिमको नजिक र टपमा ‘डबल' जाली बुन्नुपर्छ। पिलर र बिममा कम डन्डी हाल्ने, अर्कातिर ढलानमा चाहिनेभन्दा बढी छाप्ने चलन छ। सामान्य घरमा अढाइ लाइनको डन्डी भए पुग्छ। यसको ज्ञान नभएर चार लाइनसम्मको डन्डी हाल्ने गरेको देखिन्छ। यस्तो गल्तीले घर बोझिलो त हुन्छ नै, खर्च पनि दोब्बर हुन्छ।
पिलर र बिममा नारीजत्तिको मोटो डन्डी प्रयोग गरिने ठूला भवनमा समेत ढलानमा अढाइ र तीन लाइनको डन्डी हाले पुग्छ। आवासीय भवनमा ढलानको मोटाइ सामान्यतया ५ इन्च भए पुग्छ। ढलानको मसला हाल्ने बेला जालीभन्दा माथि हाल्नुपर्छ। जाली धेरै माथि पारेर मसला तल हाल्यो भने ढलान कच्चा हुन्छ। यस्तो गल्तीले भुइँचालो आएको बेला वा कोठामा धेरै भीड भएको बेला जालीलाई छाडेर ढलान खस्ने डर हुन्छ। ढलानको जाली फर्माभन्दा एक इन्च माथि उठाए पुग्छ। जालीले ढलानलाई बोक्ने हो, झुन्ड्याउने होइन।
कँक्रिट बनाउने विधि
पिलर, बिम वा स्ल्यापमा कँक्रिटको प्रयोग गरिन्छ। पिलर, बिम र ढलानको बनोट दुरुस्त बनाएर इन्जिनियरले तोकेअनुसारकै डन्डी हाल्दैमा घर बलियो हुँदैन। कँक्रिटको प्रयोग उपयुक्त हुनुपर्छ। पिलर, बिम वा स्ल्याप ढलान गर्न आवश्यक सिमेन्ट, बालुवा, गिट्टी र पानीको सम्मिश्रण कँक्रिट हो।
कँक्रिट बनाउने आफ्नै विधि छ। सामान्य घरमा एम १५ कँक्रिट तयार गरे हुन्छ। त्यसमा १ बोरा सिमेन्ट बराबर २ बोरा बालुवा र ४ बोरा गिट्टी हालिन्छ। योभन्दा ठूलो निर्माणमा एम २० र पुल, बाँध निर्माण गर्दा एम २५ प्रयोग गरिन्छ। एम २० मा १ सिमेन्टबराबर २ बालुवा र ३ गिट्टी हुन्छ। धेरै बोझ थाम्नुपर्ने निर्माणमा १ सिमेन्ट बराबर डेढ बालुवा र ३ गिट्टी मिसाइन्छ।
यतिविघ्न सामग्री जुटाइसकेपछि पनि घोल्ने तरिकामा गल्ती भइरहेको छ। सिमेन्ट, बालुवा र गिट्टीको आयतनका आधारमा अनुपात मिलाउने चलन सर्वथा गलत छ। त्यसलाई तुरुन्त सच्याएर घनत्वअनुसार हुनुपर्छ। चारकोठे घर बनाउनेले पनि एक–एक बोरा बालुवा र गिट्टीको पनि वजन लिएर अनुपात मिलाउन सक्छन्। तर यो ज्ञान ज्यादै कमलाई छ। यी सामग्रीको मिसावट ठिक ढंगले गर्न मिक्स्चरबाट घोल्नुपर्छ।
कँक्रिटका लागि आवश्यक हरेक सामग्रीको गुणस्तर मापदण्डअनुसार हुनुपर्छ। सिमेन्टमा गुणस्तर चिह्न र सिल ख्याल गर्नुपर्छ। बालुवामा माटो वा अभ्रख मिसिएको हुनु हुँदैन, दानेदार चाहिन्छ। गिट्टी साह्रो ढुंगाको हुनुपर्छ। नरम, बलौटे वा रातो ठिक हुँदैन। गिट्टी सानोठूलो चाहिन्छ, ४ देखि ६ लाइनको। सानो गिट्टीले ठूलोले बनाउने खाली ठाउँ भरिन्छ।
पानीको गुणस्तर पनि ज्यादै महत्वपूर्ण हुन्छ। ढलको पानी हाल्न मिल्दैन। आइरन अधिक भएको पानी पनि कँक्रिटमा प्रयोग गर्नु हुँदैन। कँक्रिटलाई बलियो बनाउन तापक्रमको पनि उत्तिकै महत्व हुन्छ। अत्यधिक चिसो वा गर्मीमा ढलान गर्दा बलियो हुँदैन, खति मात्र हुन्छ। १० देखि ३० डिग्री तामक्रम असाध्यै राम्रो। माइनस ३ वा ४० डिग्रीभन्दा बढीमा कँक्रिटको काम गर्नु हुँदैन। धेरै गर्मीमा कँक्रिटको सबै पानी चाँडो सोसिन्छ। कम तापक्रम भयो भने चिसोले ढलान जम्न सक्दैन।
गारो ढलान सकेर
डकर्मीले पिलर सिस्टमको घरमा गारो बलियो चाहिँदैन भन्ने विश्वास घर बनाइरहेकालाई दिलाएका छन्। सबै घर पिलरले बोकिहाल्छ, गारोले बारको काम मात्र गर्ने हो भन्ने जिकिर धेरैको छ। यो सरासर गलत धारणा हो। घरको बोझ पिलरले बोक्दैमा दुर्घटना नहुने हैन। गारो कमजोर भयो भने त्यसैले थिचेर जनधनको क्षति हुन्छ। पिलरसँगै गारो उठाएर ढलानले थिच्ने काम सरासर गलत हो। यसले पिलर सिस्टम बिथोल्छ।
घरको स्ट्रक्चरको काम सकिएपछि मात्र गारो लगाउनुपर्छ। ढलान गरेको दुईचार दिनमै गारो लगाउन बिम, पिलर कमजोर हुन्छ। कँक्रिट जम्न २२ दिन लाग्ने भएकाले त्यति कुरेर मात्र गारो लगाउनुपर्छ। ढलान भैसकेपछि गारो लगाउँदा सुरक्षित हुन्छ। यसका लागि तरिका पुर्याकउनुपर्छ। गारो कुनै हालतमा ४ इन्च लगाउनु हुँदैन। ९ इन्च आवश्यक छ। गारो लगाउँदा ठाउँठाउँमा दुई लाइनको डन्डी ठाडो र तेस्रो राख्न आवश्यक छ। झ्यालको तल र माथि लिन्टन ढलान गर्नुपर्छ। त्यसैलाई लम्बाएर कोठालाई सानो खालको टाइजस्तो बनाएन भने घर झन् कमजोर भयो। तराईमा टाइको चलन चलिसकेको छ। झ्यालमुनि पनि त्यसैगरी लिन्टन कस्नु जरुरी छ।
गारो र प्लास्टरको मसला
गारो बलियो बनाउन मसला (सिमेन्ट र बालुवा) मुछेको तरिका मिल्नुपर्छ। गारोका लागि १ बोरा सिमेन्टबराबर ५ बोरा बालुवा हाले हुन्छ। जबकि प्लास्टरमा बालुवा घटाउनुपर्छ। सिलिङमा तीन बोरा र दायाँबायाँ ४ बोरा बालुवाको मसला बनाउनु उपयुक्त हुन्छ।
यी सबै तालमेल मिलाउन घर बनाउँदा इन्जिनियरको परामर्श अपरिहार्य छ। पिलर सिस्टममा बनेको सामान्य आकारको कँक्रिटको घरको वजन पनि सयौं टन हुन्छ। यति बोझिलो घर ढंग नपुर्यािई बनायो भने जोखिमपूर्ण हुन्छ। उपयुक्त प्रविधि र प्राविधिकबिना बनाएको घरमा सानो त्रुटि भयो भने ठूलो नोक्सानी हुन्छ। त्यसैले, सही विधि अपनाउन सकिन्न भने तीन तलासम्मको घर इँटाढुंगाकै भर (लोड बियरिङ सिस्टम) को बनाउन सकिन्छ। यसमा घरभरिको भार प्रत्येक इँटा वा ढुंगाले बोक्छन्। यो घरमा सानो त्रुटि हुँदैमा ठूलो नोक्सानी हुँदैन।source:- http://www.onlineharpal.com