Tuesday 28 February 2012

चार्ज गर्ने कमालहरु...........


सामान्यतया मोबाइल फोनसँगै आउने चार्जरबाट मोबाइल चार्ज गर्ने गरिन्छ । तर, सधैं चार्जर बोकेर हिँड्न सम्भव नभएकाले ब्याट्रीको चार्ज सकिएपछि प्रयोगकर्ताहरूलाई समस्या हुने गरेको छ । अब भने प्रयोगकर्ताहरूले आफ्नो मोबाइल फोन चार्ज गर्न चार्जरकै भर पर्नुपर्ने बाध्यताको अन्त्य हुँदै छ । प्रयोगकर्ताहरूको यही समस्या बुझेरै वैज्ञानिक र अनुसन्धानकर्ताहरू मोबाइल फोन चार्ज गर्ने अन्य उपायहरू पत्ता लगाउन जुटेका छन् ।

(१) टी-शर्ट चार्जर : केही महीनाअघि बेलायतको 'ग्लाष्टोनबरी फेष्टिभल' नामक साङ्गीत कर्न्सर्टमा प्रदर्शित एक विशेष टी-शर्टबाट प्रयोगकर्ताहरूले मोबाइल फोन चार्ज गरिएको देखेका थिए । 'पाइजोइलेक्ट्रिक फिल्म' नामक एक विशेष सामग्रीबाट बनाइएको उक्त टी-शर्टले कर्न्सर्टमा बजेका सङ्गीतबाट आएको ध्वनि र कम्पनलाई मोबाइल चार्ज गर्न पुग्ने विद्युतीय ऊर्जामा परिवर्तन गरेको थियो । टी-शर्टमा त्यसरी जम्मा भएको विद्युत्लाई एक तारमार्फत मोबाइल चार्ज गरिएको थियो । 

(२) हार्टबीट चार्जर : वैज्ञानिकहरूले मानिसको मुटुको धड्कनबाट उत्पन्न हुने विद्युतीय ऊर्जाबाट मोबाइल फोन चार्ज गर्ने एक नयाँ उपकरण निर्माण गरिरहेका छन् । उक्त उपकरणले शरीरमा लगाइएका माइक्रोचिप्सबाट विद्युतीय ऊर्जा प्राप्त गर्ने गर्दछ । शरीरका विभिन्न भागमा लगाइएका माइक्रोचिप्सहरूले मुटुको धड्कन र चालबाट उत्पन्न हुने विद्युतीय ऊर्जालाई यन्त्रमा पठाउने र प्रत्येक चोटि मुटु धड्किँदा मोबाइललगायतका 'ह्याण्डहेल्ड डिभाइस'हरू चार्ज हुने 'क्रञ्चगियर' वेबसाइटले जानकारी दिएको छ ।

(३) हावा र सौर्य चार्जर : सन् २०१० मा दुई भारतीय विद्यार्थीहरूले हावा र सौर्य ऊर्जालाई सञ्चय गर्नसक्ने हेल्मेट निर्माण गरेका थिए । उक्त हेल्मेट लगाएर साइकल/मोटरसाइकलमा ४० मिनेटको यात्रा गरेपछि मोबाइल चार्ज गर्न पुग्ने ऊर्जा निस्कने बताइएको छ । हेल्मेटमा भएको सोलार प्यानल र सानो पङ्खाले सूर्यको किरण र हावालाई ऊर्जामा बदलेपछि एक ब्याट्रीमा उक्त ऊर्जा सञ्चित हुने र चाहिएको बेला मोबाइललगायतका साधनहरू चार्ज गर्न पुग्ने बताइएको छ ।

(४) प्यान चार्जर : जापानका अविष्कारकर्ता र्योजी फुनाहासीले निर्माण गरेको प्यान चार्जरले कुनै पनि स्रोतबाट प्राप्त तापलाई विद्युतीय ऊर्जामा बदल्न सक्छ । यसका लागि विशेष प्यान (ताप्के)लाई आगोमा तताउनुपर्छ । तापबाट निस्केको ऊर्जालाई प्यानमा भएको विशेष यन्त्रले विद्युत्मा परिवर्तन गरी तपार्इंको मोबाइललगायतका ह्याण्ड हेल्ड डिभाइसहरू चार्ज गर्ने गर्दछ । जुनसुकै बेला पनि प्रयोग गर्न सकिने उक्त प्यान जापानमा गत मार्चमा भएका प्राकृतिक र आणविक विपत्तिपछिको स्थितिलाई सामना गर्न निर्माण गरिएको बताइएको छ ।

(५) भ्वाइस चार्जर : दक्षिण कोरियाली अनुसन्धानकर्ताहरू एक यस्तो यन्त्रको निर्माणमा लागिरहेका छन्, जसले विभिन्न प्रकारका आवाजलाई ऊर्जामा बदलेर प्रयोगकर्ताहरूको मोबाइल फोन चार्ज गर्न सहयोग पुर्याउँछ । यो यन्त्रको एक विशेष प्याडमा भएका जिङ्क तारले होहल्ला, हवाईजाहजको आवाजलगायतका ठूला आवाजका स्रोतहरूबाट आएका ध्वनिलाई विद्युतीय ऊर्जामा बदल्ने गर्दछ । अनुसन्धानकर्ताहरूका अनुसार त्यस्ता स्रोतहरूबाट उत्पन्न ध्वनि तरङ्गहरूले उक्त यन्त्रको जिङ्क तारलाई हल्लाइदिएपछि विद्युत् उत्पन्न हुनेछ ।

(६) आइफ्यान चार्जर : नामबाटै यो चार्जर एप्पलको आइफोन चार्ज गर्ने उपकरण हो भन्ने बुझिन्छ । नेदरल्याण्डका अनुसन्धानकर्ताहरूले निर्माण गरेको यो चार्जर आइफोन राख्ने केसजस्तो लाग्दछ । चारपाङ्ग्रे सवारीसाधनहरूका झयाल र दुईपाङग्रेका ह्याण्डलमा अडयाउन मिल्ने गरी बनाइएको यो यन्त्रमा रहेको पङ्खाले हावालाई विद्युत्मा बदल्ने गर्दछ । यस यन्त्रबाट एउटा आइफोन चार्ज हुन सामान्यतया ६ घण्टा लाग्ने गर्दछ । तर, सवारीसाधनको गति उच्च भएमा भने केही बढी ऊर्जा निस्कन सक्ने अनुसन्धानकर्ताहरू बताउँछन् ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...