Thursday 1 March 2012

श्रीमतीलाई खुसी राख्ने केही टिप्स


तारिफ गर्नुहोस्
हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना सम्बन्धमा कसैले सुन्दर दुई शब्द मात्रै भनिदियो भने पनि ऊ साह्रै खुसी हुन्छ । प्रशंसा या तारिफको यही नियमलाई श्रीमती -या प्रेमिकाका) हकमा भरपूर प्रयोग गर्नुहोस् । हरेक कुरामा उनको तारिफ गर्नुहोस् । श्रीमतीको रूपको तारिफ गर्नुहोस् । फिगरको तारिफ गर्नुहोस् । उनले लगाएको लुगाको तारिफ गर्नुहोस् । उनको घर सजाउने कलाको तारिफ गर्नुहोस् । खाना पकाउने कलाको तारिफ गर्नुहोस् । तर, तारिफ गर्दा ध्यान दिनुहोला— तपाईं कतै झुटो या नपच्ने कुरा त बोलिरहनुभएको छैन ? आफ्नी श्रीमतीलाई ‘तिमी त ऐश्वर्या रायभन्दा पनि सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईं खुस्किनुभो । बरु, ‘मेरा लागि तिमी ऐश्वर्या रायजत्तिकै सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईंको तारिफ सन्तुलित हुन जान्छ । तारिफका नाममा अर्थ न बर्थका, उडन्ते अभिव्यक्ति प्रयोग गर्नुभयो भने उनलाई व्यंग्य गरेजस्तो हुन जान्छ । त्यसैले ढंग पुर्‍याएर तारिफ गर्नुहोस् ।
उनको कामलाई कम नआँक्नुहोस्
तपाईंकी श्रीमती जागिर खान्नन् र शुद्ध गृहिणी हुन् भने तपाईंमा ‘म कमाउने मान्छे हुँ’ भन्ने अहम् हुन सक्छ । उनका घरायसी कामलाई तपाईंले सम्मानजनक दृष्टिकोणले हेर्नुभएन भने उनी दुःखी हुनेछिन् । घर चलाउनु निकै गाह्रो काम हो । तपाईंले कमाउनु मात्रै घरपरिवारका लागि पर्याप्त हुँदैन । घर चलाउन तपाईंकी पत्नीले प्रयोग गर्ने सीप या कौशललाई तपाईंले कम आँक्न पाउनु हुन्न । सत्य के हो भने तपाईंको कामको आर्थिक मूल्य जति छ, उनको कामको आर्थिक मूल्य त्योभन्दा कम हुँदैन । तपाईंले उनलाई खुसी राख्न उनको कामको यथोचित कदर गर्नैपर्छ । तपाईंकी श्रीमती कामकाजी महिला हुन् भने तपाईंले उनलाई घरायसी काममा पनि सहयोग गर्नुपर्छ ।
सधैँ प्रेम प्रकट गर्नुहोस्
विवाह गरिसकेपछि मायाप्रीतिका कुरा किन गरिरहनुपर्‍यो र भन्ने सोचाइ राख्नुभएको छ भने त्यो एकदम गलत हो । श्रीमतीलाई सधैँ प्रेमिकाका रूपमा ग्रहण गर्नुहोस् । वेला-मौकामा उनलाई भनिहाल्नुस्— ‘म तिमीलाई माया गर्छु,’ या ‘तिमीविना म एकदम अपूरो र अधुरो छु ।’ यसरी प्रेम दर्साइरहुनभयो भने उनले आफ्नो महत्त्वबोध गर्नेछिन् । उनलाई विश्वास दिलाउनुहोस् कि तपाईं उनलाई दिलोज्यानले प्रेम गर्नुहुन्छ र उनको असाध्यै ख्याल गर्नुहुन्छ ।
रोमान्स कायम राख्नुहोस्
विवाहको सफलतामा रोमान्सको अहम् भूमिका हुन्छ । रोमान्स यस्तैै हुनुपर्छ भन्ने छैन । श्रीमतीलाई महिनाको एकचोटि फिल्म देखाउन लैजानु, या बाहिर खान लैजानु या उनको चुल्ठोमा एक थुंगा फूल सिउरिदिनु, यी सब रोमान्स हुन् । प्रत्येक प्रेमपूर्ण व्यवहार रोमान्स हो ।
आर्थिक मामिलामा बोस हुन नखोज्नुहोस्
कम बचत या अधिक खर्चका लागि श्रीमतीलाई दोष नदिनुहोस् । श्रीमतीलाई खटाई-खटाई पैसा दिने बानी राम्रो होइन । घर चलाउन महिनाको निश्चित रकम उनको हातमा राखिदिनु राम्रो हुन्छ । यसले उनमा बजेटभित्र रहेर खर्च गर्ने जिम्मेवारी बढाउँछ । हरेक दिन उनले तपाईंसँग पैसा मागिरहनुपर्‍यो भने उनले हीनताबोध महसुस गर्न सक्छिन् । तपाईंले उनलाई उनी पूर्णतः तपाईंप्रति निर्भर छिन् भन्ने अनुभूत गर्न दिनु हुन्न । पैसाका सन्दर्भमा आफूलाई बोस साबित गर्न खोज्नुभयो भने तपाईंले श्रीमतीलाई खुसी राख्न सक्नुहुन्न । त्यसैले श्रीमतीको बोस होइन, पार्टनर बन्नुहोस् ।
वेलाबखत उपहार दिने गर्नुहोस्
श्रीमतीलाई खुसी राख्ने राम्रो उपाय उपहार पनि हो । उपहार महँगो हुनुपर्छ भन्ने जरुरी छैन । एक दर्जन चुरा, पाउजु जस्ता सामान्य उपहारले पनि उनलाई खुसी बनाउन सक्नुहुन्छ । उपहार दिनका लागि जन्मदिन, विवाहको वर्षगाँठ, तीज, या दसैँजस्ता विशेष अवसर हुनैपर्छ भन्ने पनि छैन ।
सल्लाह लिनुहोस्
हरेक कुरामा उनको सल्लाह लिनुहोस् । एक्लै निर्णय नगर्नुहोस् । नयाँ टिभी किन्दै हुनुहुन्छ, या घरमा तला थप्दै हुनुहुन्छ, या कुनै नयाँ काम सुरु गर्दै हुुनुहुन्छ, अनिवार्यतः उनको सल्लाह लिनुहोस् । यसो गर्नुभयो भने तपाईं उनलाई कति महत्त्व दिनुहुन्छ, त्यो उनले थाहा पाउनेछिन् । साथै, तपाईंले विचार नपुर्‍याएको कुरामा उनले विचार पुर्‍याएकी हुन सक्छिन्, जो फलदायी हुन सक्छ ।
उनको यौन सन्तुष्टिको ख्याल गर्नुहोस्
हेक्का राख्नुहोस्— यौनका मामलामा तपाईं आफ्नी श्रीमतीबाट जति सन्तुष्टि चाहनुहुन्छ, त्यत्ति नै सन्तुष्टिको अपेक्षा उनले पनि राखेकी हुन्छिन् । दाम्पत्य जीवनको सफलताको महत्त्वपूर्ण कडी हो यौन । र, यो कुनै पनि हालतमा एकतर्फी खेल होइन । आफ्नो यौन सुखका लागि तपाईंले श्रीमतीको यौन सुखलाई पनि महत्त्व दिनुपर्छ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...